२०७७ माघ ६
January 19, 2021, Tuesday

स्वास्थ्य एकाइ सञ्‍चालनपछि दुर्गम बगराका स्थानीयको स्वास्थ्यमा पहुँच बढ्यो

स्वास्थ्य एकाइ सञ्‍चालनपछि दुर्गम बगराका स्थानीयको स्वास्थ्यमा पहुँच बढ्यो

धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी छन्। गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन्।

‘वडास्तरको स्वास्थ्यचौकी भएको मुदी पुग्न बगरबाट पूरै दिन भिर र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले पीडा सहेर, रोग पालेर बस्नुपरेको थियो’, पुनले भने, ‘स्वास्थ्य एकाइ खुलेपछि समयमै सहजरूपमा स्वास्थ्य सेवा पाएका छौँ।’ बगरलगायत म्याग्दीका दुर्गम र विकट बस्तीमा स्थानीय तहहरुले स्थापना र सञ्चालन गरेका सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएका छन्।

वडास्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा सुविधा लिन नसकेका दुर्गमका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेका हुन्।

पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ स्थापना भएपछि सामान्य बिरामी पर्दासमेत तीन-चार घण्टादेखि पूरै दिन हिँडेर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यता हटेको छ। गाउँमै नियमित स्वास्थ्य परीक्षण र औषधि पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरि–४ खिवाङकी चनमाया घर्तीले बताइन्।

सातवटा वडा रहेको धवलागिरिले खिवाङ, आरबाङ र बगरमा तीनवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ। मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाँडागाउँ, मङ्गला गाउँपालिकाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन्।

सिङ्गा, थाकनपोखरी र फुर्केसल्लामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा नं ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ। रघुगङ्गा गाउँपालिकाले सातवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए। ‘बादुक, राममन्दिर, मौवाफाँट, दर्मीजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य एकाइ स्थापना भएको छ’, उनले भने, ‘सबै स्वास्थ्य एकाइ स्थापनाका लागि पाँच-पाँच लाखमा भवन बनाएका छौँ।’

औजार, उपकरण र औषधिका साथै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ। एकाइमा एक अहेव र एक कार्यालय सहयोगी खटाइएको छ। एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण, खोपलगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य एकाइका अहेब बिना पाइजाले बताइन्। ‘हामीले नसक्ने बिरामीलाई स्वास्थ्यचौकी र जिल्ला अस्पताल सिफारिस गर्छौँ’ उनले भनिन्, ‘आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ।’

Related News

पर्यटक पर्खदैँ नारच्याङको झरना
पर्यटक पर्खदैँ नारच्याङको झरना
  • २०७७ मंसिर ३, बुधबार १०:०९

कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको...

करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
करिब १ बर्षपछि खुले म्याग्दीका प्राकृतिक अस्पताल
  • २०७७ मंसिर ३, बुधबार १०:०९

म्याग्दी।म्याग्दीका प्राकृतिक अस्पतालहरु करिब १ बर्षमा खुलेका छन् । छाला रोग, हाडजोर्नी, ग्याटिक, युरीकेसिड, भाचियको र्मकेको जस्ता रोग निको हुने...

भेडापालनको हब भन्दै गुर्जा गाउँ
भेडापालनको हब भन्दै गुर्जा गाउँ
  • २०७७ मंसिर ३, बुधबार १०:०९

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका किसानले व्यवसायीक रुपमा पालन गरेको भेडा । यहाँका अधिकांश जनतालको मुख्य आम्दानी भनेको नै भेडा पालन...

TOP